काठमाडौं, असोज २५ । नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्नेलाई विशेष अदालतले कैद तथा जरिवाना हुने सजाय सुनाएको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासबाट यस्तो फैसला आएको हो ।
विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई ६ वर्ष कैद सजाय सुनाइएको छ । प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले १ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।
उक्त मुद्दामा फैसला गर्दै विशेषले १५ असोजमा कसूर कायम गरेको थियो । २ वर्षअघि दायर मुद्दामा बिहीबारका लागि सजाय निर्धारण पेशी तोकिएको थियो ।
विशेषका अनुसार कार्कीलाई ६० लाख ७५ हजार रुपैयाँ भन्दा बढी जरिवाना र उति नै रकम बिगो असुल उपर हुने फैसलामा उल्लेख छ । असई कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई प्रतिवादी बनाइ ३१ साउन २०७८ मा मुद्दा चलाएको थियो । उनले विक्रि भएको तेलको वास्तविक हिसाब नदेखाई १ करोड ३ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको अख्तियारको दाबी थियो ।