चेन्नई, असोज २६ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ ।
लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १७७ रनमा अल आउट भयो । उसका मार्नस लाबुसेनले सर्वाधिक ४६ रन बनाए ।
मिचेल स्टार्क २७ रनमा र प्याट कमिन्स २२ रनमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १०९ रनको शतकीय पारी खेले । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो । डी ककले श्रीलङ्कासँगको पहिलो खेलमा पनि १ सय रनको शतकीय पारी खेलेका थिए ।
यस्तै, एडन मारक्रमले ५६ र तेम्बा बभुमाले ३५ रन बनाए । बलिङ तर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान २/२ विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई १०२ रनले हराएको थियो । विश्वकप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्डबीच खेल हुनेछ ।
आज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्लादेश र न्युजिल्यान्ड खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ ।
न्युजिल्यान्ड २ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । बङ्लादेश २ खेलमा २ अङ्कका साथ छैटौँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो ।
त्यस्तै, बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्ल्यान्डसँग १३७ रनले पराजित भएको थियो । अङ्क तालिकाको शीर्षस्थानमाअस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका उक्लिएको छ ।
विश्वकप क्रिकेटमा भोलि आयोजक भारत र पाकिस्तान बीच अहमदाबादमा खेल हुनेछ ।