Kath khabar
फिफा विश्वकप २०२६ छनोटमा अञ्जन विष्टको कीर्तिमानी गोल संगै नेपाल हारबाट जोगियो

 

                  काठमाडौं, असोज २६ ।  फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेको छ ।

आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओससँग १-१ गोलको बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएको थियो । उसका लागि खेलको ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गोल गरे । पहिलो हाफमा लाओस १-० ले अघि रह्यो ।

खेलको दोस्रो हाफको ४९ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि अञ्जन विष्टले गोल गरे । यो गोलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनको यो १३ औँ अन्तर्राष्ट्रिय गोल हो ।

नेपालबाट हरि खड्का र निराजन रायमाझीको पनि अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ छ । आफ्नो ५८ औँ खेलमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुनेछ । २ खेलमा अघि रहने टोली विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update