काठमाडौं, असोज २६ । काठमाडौंको तीनकुनेमा गत २९ भदौमा भएको ४ जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले आज भएको थुनछेक बहस पछि भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको २ दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिई फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको, तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य ३ जनाको पनि खुकुरी प्रहार गरी हत्या गरेको बताएका थिए ।
साथै उनले विभिन्न मिति र स्थानमा अहिलेसम्म अन्य ९ जनाको पनि हत्या गरेको तर कसैलाई चिन्दिनँ बयान दिँदै प्रहरीलाई अनुसन्धान गर्न चुनौती दिएका छन् ।
गत २९ भदौमा काठमाडौंको तीनकुनेस्थित काठ उद्योग भित्र दोलखाको कालिञ्चोक गाउँपालिका-८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भिरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका-२ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।
उनीहरूको हत्या अभियोगमा पक्राउ परेका भण्डारीको बयान सकेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो भने बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।