काठमाडौं, असोज २८ । आजदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाका अवसरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ । घटस्थापनाको शुभ साईत बिहान ११ बजेर २९ मिनेटमा रहेको छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन घरघरमा जौ, मकै, गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुन्छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत् रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरिने चलन छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैँको सातौं दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घैँटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ, । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।
यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । मैसासुर, रक्तविज, चन्डमुन्डलगायतका असुरको बध गरेकी दुर्गे भवानीको पूजा विर्सजन पूर्णपात्रो र दक्षिणा संकल्प गरी समापन गर्ने चलन रही आएको छ ।