काठमाडौं, असोज २९ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेश कुमार भट्टराई लगायतका उच्च सरकारी अधिकारीले बिदाइ गरे।
मंगलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफल हुनेछ। सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनको पहिलो दिन मंगलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले आयोजना गर्ने रात्रिभोजमा उपप्रधानमन्त्री श्रेष्ठ सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने बताइएको छ।
भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपत् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको सहभागिता छ।