बेइजिङ, असोज ३०। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङमा रहेको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा जानुभएको हो । हिजो उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ । वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर हुनुहुन्छ । उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनुहुनेछ । उहाँले आउँदो कात्तिक १ गते आयोजना हुने ‘हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।
यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सी बीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यहाँ रहँदा उहाँले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ ।
चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विज्ञ र व्यापारीहरु समेत गरी अरु १ सय जना भन्दा धेरै आमन्त्रित छन् । बीआरआई घोषणाको दशौँ वार्षिकोत्सव मनाउन चीनले तेश्रो बृहत् सम्मेलन आयोजना गरेको हो । बीआरएफ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।
फोरममा बीआरआईको १० वर्षे उपलब्धि प्रतिवेदन प्रस्तुत हुनुका साथै हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगति बारे छलफल हुनेछ । तेस्रो बीआरएफमा पनि भारत सहभागी नहुने भएको छ । भारत यस अघिका दुवै फोरममा सहभागी भएको थिए ।
बीआरआईका कारण १३० भन्दा बढी देशको अर्थव्यवस्था खतरामा रहेको भन्दै भारतले विरोध गर्दै आएको छ । बीआरआई अन्तर्गत चीनले विभिन्न देशलाई ऋणको पासोमा पार्दै आएको भन्दै यसको विरोध भइरहेको छ ।