Kath khabar
सहुलियत पसलमै चिनीको अभाव


                 पोखरा, असोज ३०।  पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षेत्री दशैंका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको सहुलियत पसलको बिक्री केन्द्र पुगे। तर, त्यहाँ चिनी नै बिक्रीमा नभए पछि रित्तो हात घर फर्कनु पर्‍यो । 

‘उपभोक्तालाई लक्षित गरी काठमाडौंमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ। तर, यहाँ चामल, नुन, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ। मलाई चिनी चाहिएको हो,’ क्षत्रीले भने, ‘बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी रु. १३० सम्म लिने गरेका छन्।’

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि सर्वसाधारणको दैनिकी कष्टकर हुँदै आएको उनको भनाइ छ । सहुलियत दरमा खाद्यवस्तुको बिक्री गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखरा र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराको बिक्री केन्द्रले यस वर्ष चिनी नभएका कारण बिक्री गरेको छैन। ‘सरकारले काठमाडौं बाहिरका जिल्लामा पनि चिनी बिक्री केन्द्र राखेको भए आम उपभोक्ताले सहुलियत दरमा चिनी किन्न पाउने थिए, किन त्यसो नगरेको होला ?’ क्षत्रीले प्रश्न गरे।

साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैंमा चिनी आयात हुन नसकेको र दशैं पछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए।

‘दशैंमा उपभोक्तालाई सहुलियत दरमा चामल, तोरीको खाने तेल, नुहाउने साबुन र नुन सहुलियत दरका दिएका छौँ,’ उनले भने, ‘सधैँझैँ यस वर्ष पनि साल्ट ट्रेडिङको कार्यालय पृथ्वीचोकबाट उपभोग्य सामान बिक्री भइरहेका छन्।’
 
प्रमुख उपाध्यायका अनुसार साल्ट ट्रेडिङले २५ केजी तौल भएको जिरा मसिनो चामलको बोरालाई बजार भाउ भन्दा रु. ५ सय सस्तोमा रु. २ हजार १ सयमा बिक्री गरेको छ । त्यस्तै, २५ केजीको सोना चामल प्रति बोरामा रु. २ सय ५० छुट गरी रु. १ हजार ७ सय ५० मा बिक्री गरिएको छ । त्यस्तै, नुनमा रु. २ सहुलियत दिइएको छ भने सन्तुर साबुनमा रु. १० र बजार भाउ रु. ४ सय २५ रहेको शान्ति तोरीको तेल प्रतिलिटर रु. ३ सय ७० मा बिक्री  गरिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी रञ्जना केसीले यस वर्ष चिनी नभएका कारण पोखराबाट स्टिम जिरा चामल बिक्री गरिएको जानकारी दिइन्।

उनका अनुसार २५ केजी तौल भएको चालमको बोरा रु. १ हजार ९ सय ७५ मा बिक्री भइरहेको छ । दशैं देखि छठ पर्वसम्मका लागि पाँच सय क्विन्टल चामल बिक्रीका लागि राखिएकोमा पोखराको पार्दीस्थित बिक्री केन्द्र र पृथ्वीचोकको बिक्री केन्द्रबाट दैनिक २० क्विन्टल चामल बिक्री भइरहेको केसीको भनाइ छ।

‘प्रतिपरिवार २ बोरा चामल दिएका छौँ,’ केसीले भने, ‘सहुलियत पसल यही असोज १५ गतेदेखि शुरु भई मंसिर ३ गतेसम्म रहनेछ।’ विशेष गरी दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलमा चामल खरिद गर्न दशैंसँगै सर्वसाधारण उपभोक्ताको चाप बढेको उनको भनाइ छ।

सरकारले बोलपत्र मार्फत खरिद गर्न लागेको चिनी केही हप्तामा नै बिक्री केन्द्रमा आइपुग्ने र चिनीको समेत बिक्री गर्ने उनले बताइन्। देशभर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ र दुग्ध विकास संस्थानले ११ आउटलेटबाट सहुलियत मूल्यमा सामान बिक्री गरिरहेका छन्।

सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भए नभएको विषयमा अनुगमन गर्न सरकारले अनुगमन समिति पनि बनाएको छ। सहुलियत पसलबाट धेरैभन्दा धेरै लाभ लिन केसीले उपभोक्तालाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update