Kath khabar
नवरात्रीको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

 

                      काठमाडौं, कात्तिक १ । नवरात्रीको चौथो दिन आज कुष्माण्डादेवीको पूजा गरिदैछ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ । देवीको सूर्यमा वास भएपछि मात्र सूर्यको ऊर्जा पृथ्वीलोक तथा ब्रह्माण्डमा प्रसार भएको धार्मिक मान्यता छ। सूर्यको उष्ण शक्तिमा पनि विराजमान हुने शक्तिका कारण उनको नाम कूष्माण्डा रहेको मानिन्छ।

नवग्रहमध्ये कूष्माण्डा देवीलाई सूर्यको अधिष्ठात्री देवी मानिन्छ। सिंहिनीको आसनमा कूष्माण्डा देवी विराजमान हुन्छिन्। भारतीय उपमहाद्वीपमा उनको मूर्तिमा ८ हात देखाइन्छ। दायाँ हातमा क्रमशः कमण्डलु, धनुष, वाद र कमलको फूल हुन्छ भने बायाँ हातमा क्रमशः अमृत कलश, जपमाला, गदा र चक्र हुन्छ। कूष्माण्डा देवीले क्षणभरमै ब्रह्माण्ड सृष्टि गर्न सक्ने शक्ति राख्छिन्, तसर्थ विशेषतः सिद्धि र निधिका लागि देवीको पूजा गरिन्छ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update