काठमाडौं, कात्तिक १ । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।
मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । इजरायली सेनाले अस्पताललाई प्यालेस्टिनी लडाकुहरूले प्रहार गरेको रकेटले प्रहार गरेको बताएको छ भने हमासले इजरायली हवाई आक्रमणको दोष लगाएको छ।
घाइते र शरणार्थीहरूले भरिएको अस्पतालमा आक्रमण भएको गाजाको स्वास्थ्य विभागले बताएको छ। अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायताको पर्खाइमा रहेको बताएको छ । घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।
डब्ल्युएचओले भनेको छ – अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए । यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २० मध्ये एक हो।
डब्ल्युएचओले नागरिक र स्वास्थ्यकर्मीहरूको तत्काल सक्रिय सुरक्षाको लागि आह्वान गर्दछ, निकासी आदेशहरू उल्टाउनुपर्दछ, र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनु हुँदैन।“
मङ्गलबार राति जारी गरिएको समाचार टिप्पणीमा, रेड क्रसको अन्तरराष्ट्रिय समिति (आईसीआरसी) ले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौंको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ। “अस्पतालहरू मानव जीवन बचाउनका निम्ति आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशका दृश्यहरू हेर्नका लागि होइन। अस्पतालको शय्यामा आक्रमणबाट बिरामीको मृत्यु हुनु हुँदैन।