काभ्रे, कात्तिक १ । काठमाडौंबाट रामेछाप जाँदै गरेको विद्युतीय गाडी आज बिहान काभ्रेको पनौतिमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको बागमती प्रदेशको ०३-००१ ज ०२९८ नम्बरको विद्युतीय गाडी काभ्रेको पनौती नगरपालिका-५ सुन्दरवस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना भएको हो ।
गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका-१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
घाइते हुनेहरुमा रामेछाप मन्थली नगरपालिका-२ की ३० वर्षीय ज्ञानु ढुंगेल, मन्थली नगरपालिका- १ की १८ वर्षीय रकिट ढुंगेल, मन्थलीकै २३ वर्षीया पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका-२ का ५१ वर्षीय टंकप्रसाद दाहाल र लिखुतामाकोसी गाउँपालिका- ६ का ३८ वर्षीय अनिल आलेमगर रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका-३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
गाडी चालक काभ्रेपलाञ्चोक पनौती नगरपालिका-५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।