Kath Khabar
प्रधानमन्त्रीलाई कार्यक्रममा नजान आग्रह


                    काठमाडौं, कात्तिक १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले राष्ट्रपति र प्रधानमन्त्रीलाई नै गलत सूचना दिएको भेटिएको छ । संघको विवादबारे महतो र वर्तमान अध्यक्ष बद्री केसीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई गलत सूचना दिएका हुन् ।

महतो र केसीको झुटको मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पर्दाफास भएको छ । प्रधानमन्त्री प्रचण्डको रोहबरमा दुबै पक्षबीच एकता गर्ने सहमति भएको थियो । केसीको अध्यक्ष बन्ने महत्वकांक्षा र मनपरीका कारण उक्त कार्यान्वयन हुन सकेन । तर, महतो र केसीले सहमति कार्यान्वयन भएको र सोहीअनुसार नै ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न लागेको भन्दै गलत सूचना प्रधानमन्त्री कार्यालयमा पुर्याएका थिए ।

मंगलबार बिहान गैरआवसीय नेपालीलाई नागरिकता वितरण गरिसकेपछि सबै बताउँदै कार्यक्रम समापन हुँदै थियो । कार्यक्रममा सहभागी बिनोद कुँवर पक्षको तर्फबाट दिपेश खत्रीले सहमति कार्यान्वयन नभएको र संघको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको र उच्च अदालत पाटनले समेत १५ दिनभित्र जवाफ मागेको कुरा उठाए । त्यसपछि प्रधानमन्त्रीले सहमति कार्यान्वयन भएको भनिएको होइन र ? भन्दै प्रश्न गरेका थिए ।

लगत्तै संस्थापक अध्यक्ष महतोले “सबै भइसकेको छ, यो भाइलाई केही जानकारी छैन । सबै मिलिसकेको छ, अब उठौं” भने । त्यसको प्रतिवाद गर्दै खत्रीले केही पनि कुरा नमिलेको बताउँदै प्रधानमन्त्रीलाई महाधिवेशन स्थगित गर्न आफूले दिएको निवेदन प्रधानमन्त्रीलाई बुझाए ।

“केही कुरा मिलेको छैन । उहाँहरूले तपाईँको उपस्थितिमा भएको सहमति कार्यान्वयन गर्नुभएन । तपाईँ समग्र एनआरएनएको प्रधानमन्त्री हो, यो एउटा गुट हो । प्रधानमन्त्रीज्यू गुटको कार्यक्रममा नजानुहोला” खत्रीले निवेदन बुझाउँदै प्रधानमन्त्रीलाई भने ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले अब कार्यक्रममा जाने नजानेबारे म सोच्छु भनेको खत्रीले जानकारी दिए । संस्थाका जिम्मेवारी व्यक्तिले नै गलत सूचना दिएर राज्य र सरकार प्रमुखलाई नै गुमराहमा राखेको उनले आरोप समेत लगाउँदै खत्रीले  सिंगो संस्थाप्रति नै विश्वासको संकट पैदा हुने अवस्था सिर्जना भएको बताए । खत्री संघका ब्राण्ड एम्बेसडर समेत हुन् ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । उच्च अदालत पाटनले जवाफ पनि मागेको छ । तर, अदालतलाई वेवास्ता गर्दै महतो र केसीको जबरजस्तीका कारण संघको विश्व सम्मेलन काठमाडौँमा जारी छ । यसले नयाँ नेतृत्व चयन पनि गर्नेछ । तर, अदालतले सम्मेलन नै अवैध घोषणा गर्न सक्ने भन्दै निर्वाचन प्रक्रिया रोकेर अरु कार्यक्रम मात्रै गर्नुपर्ने दवाव बढ्दै गएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update