काठमाडौं, कात्तिक १ । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत यूएईसँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन् । नेपालको टोलीबाट लेग स्पिनर मौसम ढकालले यो खेलबाट डेब्यु गर्दैछन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा त्रिदेशीय टी-२० शृङ्खला आज बुधवार देखि शुरु भएको हो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारी स्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो ।
टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईको तेस्रो विकेट गुमेको छ । युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई गुल्सन झाले आफ्नो शिकार बनाएका छन् ।
गुल्सनले आफ्नो स्पेलको पहिलो ओभरमै कुशल भुर्तेलको हातबाट वसिमलाई क्याच गराई पेभेलियन फर्काए । कुशलले आकर्षक रनिङ क्याच लिए । सातौँ ओभर चलिरहँदा युएईले ३ विकेट गुमाइसकेको छ ।
नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।