काठमाडौं, कात्तिक १ । भारत सरकारले नेपालका लागि चामल निर्यात खुला गरेको छ । नेपालसहित ७ देशमा गैरबासमती चामलको परिमाण तोकेर भारतले नेपालका लागि निर्यात अनुमति दिने निर्णय गरेको हो । यी देशहरुमा नेपाल, क्यामरुन, आइभरी कोस्ट, रिपब्लिक अफ गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्ज रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
यी देशहरुमा नेसनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेडमार्फत चामल निर्यात गर्न अनुमति दिइएको भारतको वैदेशिक व्यापार निर्देशनालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । यसअघि भारतले संयुक्त अरब इमिरेट्स (युएई) र सिंगापुरमा पनि गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको थियो ।
नेपालले १ लाख टन चामल आयातका लागि अनुरोध गरेको थियो तर भारतले भने ९५ हजार टनको अनुमति दिएको हो। भारतबाट यो चामल सरकारी स्वामित्वको कम्पनीमार्फत आउने छ। भारत सरकारले यही जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
वैदेशिक व्यापार निर्देशनालयले यी देशहरुको खाद्य सुरक्षा आवश्यकता पूरा गर्न र त्यहाँका सरकारहरुको अनुरोधका आधारमा निर्यात खुला गरिएको बताएको छ ।