काठमाडौं, कात्तिक २ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए। ‘दशैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका १-२ स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,’ उनले भने।
महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरू बीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।