Kath khabar
दशैं अवधिभर काभ्रेपलाञ्चोकमा ट्रिपर चलाउन नपाईने

 

                काभ्रेपलाञ्चोक, कात्तिक २ ।  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दशैं अवधिभर जिल्लामा ट्रिपर सञ्चालनमा रोक लगाएको छ ।

चाडपर्वको समयमा दुर्घटनाका घटना बढेको भन्दै प्रशासनले कात्तिक २ गते विहान ५ बजेदेखि कात्तिक १३ गते राती ९ बजेसम्म जिल्लाभर ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

घटस्थापनाकै दिन ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु भएपछि यस्तो निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वको समयमा सवारी साधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्ला भित्र, अरनिको लोकमार्ग र वीपी लोकमार्गमा ट्रिपर सञ्चालन गर्न रोक लगाइएको हो ।

काभ्रेपलाञ्चोकमा असोज महिनामा मात्रै २५ वटा सवारी दुर्घटना भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update