काठमाडौं, कात्तिक ५। आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएपश्चात् धादिङमा लगातार तीन पटक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
मापन केन्द्रका अनुसार अहिले बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ भने ८:२८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पले धादिङका विभिन्न स्थानमा सुख्खा पहिरो गएको छ । भूकम्पबाट ६ वटा कच्ची घरमा क्षती पुगेको छ। स्थानीयका अनुसार ठाउँ ठाउँमा जमिन चर्किएको छ । तर अहिलेसम्म धनजनको क्षतिको विवरण नआएको बताइएको छ ।
भूकम्पका कारण ज्वालामुखी–७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनईको खाना पकाउने चिम्नी खसेको छ। ज्वालामुखी–१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किएको र एउटा खसीको खुट्टा भाँच्चिएको छ।
ज्वालामुखी-५ बुङकोटघाट सिम्ले स्थितमा बालुवा भएको स्थानमा पहिरो गएको एसपी मिश्रले जानकारी दिए।