Kath khabar
आज राति लाग्ने खण्डग्रास चन्द्रग्रहण देशका सबै भागबाट देख्न सकिने

 

                   काठमाडौं, कात्तिक ११ । आज शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त हुने समितिले जनाएको छ । चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ ।

खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देखिनेछ। बिपी कोइराला मेमोरियल प्लानिटोरियम, अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भागबाट तथा अस्ट्रेलिया र उत्तर एवं दक्षिण अमेरिकाका केही भागबाट देखिनेछ ।

सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुनेछ । चन्द्रग्रहणलाई नाङ्गो आँखाले हेर्न सकिने र यसले कुनै नकारात्मक असर नगर्ने सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो । यो चन्द्रग्रहण यस वर्ष अर्थात् २०८० मा लाग्ने एउटै ग्रहण हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update