कायरो, कात्तिक १२ । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ। दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ।
बेहेरा नजिकै कायरो अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिँदा यात्रुवाहक बसले पार्किङ गरिएको गाडीमा ठोक्किँदा आगलागी भएपछि कम्तिमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अनलाइनमा प्रसारित भिडियो फुटेजहरूमा सडकको छेउमा धेरै जलेका गाडीहरू देखिन्छन् जसमा अग्नि नियन्त्रकहरूले आगो निभिरहेका छन्। एउटा फुटेजमा धेरै सवारी साधनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देख्न सकिन्छ।
घटनाको आपराधिक अनुसन्धान गर्न इजिप्ट सरकारले आदेश दिइएको छ । तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौँको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।
विगत केही वर्षयता इजिप्टले सडकमा हुने दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ।