काठमाडौं, कात्तिक १२ । दशैँ बिदाको बेला देशका धेरै पर्यटकीय स्थलमा चहल पहल बढेको छ । दशैँमा घरगाउँ पुगेकाहरु नजिकको पर्यटकीय क्षेत्र घुम्न जाने क्रम बढेपछि चहल पहल भएको हो । दशैँ सकिए पछि पनि धेरैजना घुम्न निस्किएका छन् ।
धेरै स्कुल, क्याम्पस तिहारसम्म बिदा हुने भएकाले यो बेला घुम्न निस्कनेमा विद्यार्थी र शिक्षकको सङ्ख्या बढी छ । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेपछि होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष तारा प्रसाद आचार्यले दशैँ लगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।
बेनी, गलेश्वर, पोखरे बगर, भुरुङ तातोपानी, दाना, घोडेपानी, सिङ्गा तातोपानीका होटल पाहुनाले भरिभराउ बनेका हुन् । बडादशैँको टीकाको भोलिपल्ट देखि काठमाडौं, पोखरा, चितवन, विराटनगर, रुपन्देही लगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पनि पर्यटकको चहल पहल बढ्न थालेको छ । आन्तरिक एवम् बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले जानकारी दिनुभयो । विशेषगरी युरोपेली देश, चीन, भारत लगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् ।
ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पनि घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।
कञ्चनजङ्घा क्षेत्र घुम्नका लागि अन्तरिक तथा बाह्य पर्यटक पहिलो रोजाइमा पर्दै गएको छ । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चलहल पहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो ।
बाह्य पर्यटकले घुन्सा चेकपोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्दछ । तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजङ्घा क्षेत्रमा कति अन्तरिक पर्यटकले अवलोकन गरे भन्ने तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । तर हरेक वर्ष कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।
दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दशैँअघि सुनसान रहेका होटल दशैँ पछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँ शुरु भएपछि धेरै होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निराश पर्यटन व्यवसाय चाडबाड शुरु भएसँगै पुनः तङ्ग्रिन थालेका बताउनुभयो । सौराहामा विदेशी भन्दा स्वदेशी पर्यटक धेरै जाने गरेका छन् ।
कास्कीमा रहेको विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको पनि लर्को लागेको छ । मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्रा भित्र पर्दछ । पोखराबाट ३ दिन २ रातमा पदयात्रा सकेर फर्किन सकिने भएकाले समेत धेरैको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लोभिने गरेका छन् ।
यस्त, दशैँ लगत्तै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्कोे लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।