काठमाडौं, कात्तिक १३ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा भ्रमणमा हुनुहुन्छ ।
जलवायु परिवर्तनको असर बारे बुझ्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । त्यसपछि उहाँ काठमाडौं फर्केर ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि गुटेरेस पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । उहाँ भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन पछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी तर्फ जानुहुनेछ ।
लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउँसो ४ बजेपछि सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नुहुनेछ । पर्सि बुधवार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ ।
राष्ट्रसङ्घ महासचिवको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बेलुकी रात्रिभोजको आयोजना गर्नुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचन अन्तर्गत लगातार दुई चक्रमा भएका चुनावले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएकोे बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा रहेका उहाँले जानकारी दिनुभयो ।
नेपाल आउने बित्तिकै हिजो दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएका महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको पनि बताउनुभएको छ ।
कोभिड-१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको भन्दै उहाँले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा आज सोलुखुम्बुको खुम्जुङ पुग्नुभएका उहाँले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत् खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा विकसित राष्ट्रहरुको नियति विकाशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्रहरु परेका उहाँको भनाइ छ ।
हिमालमा हिउँ पग्लिए सँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । साथै सगरमाथाको फोहर सफा गर्ने विषय नेपालका लागि निक्कै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्रसङ्घसँग आग्रह गर्नु भएको छ ।