काठमाडौं, कात्तिक १४ । आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल टियु क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।
आज प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । पहिलो खेल अन्तर्गत कीर्तिपुरमा बिहान ९ बजेदेखि सिंगापुर र ओमानबीच प्रतिस्पर्धा भईरहेकोछ ।
यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्नेछन् । समूह ’ए’ मा नेपाल सहित सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।
नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल, ओमान, युएई र हङकङले खेल जितेको अवस्थामा सबै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह चरणको अन्तिम खेल नेपालले ओमानसँग पर्सी बिहिबार खेल्नेछ।