काठमाडौं, कात्तिक १४ । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
मलेसियालाई पराजित गरेमा लगातार दोस्रो विजय हात पारेको नेपाल र ओमान सेमिफाइनल पुग्नेछ । नेपाली टोलीमा प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी चोटका कारण खेलमा सहभागी छैनन् । अघिल्लो दिन सिंगापुरविरुद्धको खेलमा घाइते भएका थिए । एङकल दोब्रिएका कारण उनी प्रतियोगिताबाटै बाहिरिने स्थितिमा पुगेका छन् । उनको स्थानमा विवेक यादवलाई नै निरन्तरता दिईएको छ ।
मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । मलेसियाको टिममा भने दुई परिवर्तन गरिएको छ । खिजर हायत र रिजवान हैदरको स्थानमा आज फित्री साम र अइनुल हाफिज यातिम पहिलो रोजाइमा खेल्दैछन् ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ-११ मा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहरा रहेका छन् ।