काठमाडौं, कात्तिक १४ । आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।
सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित गरेको थियो ।
आज टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनायो ।
यस्तै, मूलपानी क्रिकेट मैदानमा बहराइनले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ ओभर १ बलमा १२६ रन बनाएर आउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन १९ ओभर ३ बलमा १४६ रन बनाउँदै अलआउट भएको थियो । लगातार दोस्रो जित निकालेको ओमान तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ ।
लगातार २ खेलमा पराजित भएको सिङ्गापुर १ खेल अगावै सेमिफाइनल यात्राबाट बाहिरिएको छ । आजै कीर्तिपुरमा दिउँसो साढे १ बजे नेपाल र मलेसिया तथा मूलपानीमा कुवेत र यूएई खेल्दैछन् ।