बारा, कात्तिक १४ । बारामा गोली प्रहारबाट सोमबार मृत्यु भएका बाराको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न रहेको आशंकामा युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुन सक्ने प्रहरी स्रोतले बताएको छ । उनीहरूसँग सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको छ।
यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएका छन् । अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्म रुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।
हत्याको बिरोधमा उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत बिभिन्न संघ–संगठनहरुले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । बारा उद्योग बाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा ब्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ ।
एन प्यापसनले पनि सोमवार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र बास्तविक अपराधी समात्न नसके चरणवद्ध आन्दोलन गर्ने जनाएको छ । सर्राफको आज हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको श्रीमती र दुई छोरा छन् ।