गाजा, कात्तिक १४ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी, ४ जना इजरायली र १ जना लेबनानी पत्रकारको ज्यान गएको जनाएको छ ।
सीपीजेले एक विज्ञप्ति निकालेर गाजामा पत्रकारले असाधारण जोखिमको सामना गरिरहेको बताएको छ । यस्तै गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका कारण पत्रकारले बस्ने ठाउँ पनि नपाएको उल्लेख छ । पत्रकारले भूमिगत सेल्टर लिएकोमा त्यहाँ पनि इजरायली आक्रमण हुने गरेको सीपीजेले जनाएको छ ।
इजरायल हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह समेत रहेका छन् ।
यही अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा १४ सय जना इजरायली र ९ हजार जना प्यालेस्टिनीको ज्यान गइसकेको छ ।