Kath khabar
मेयर बालेन फेरि अर्को बहसको केन्द्रमा

 

                  काठमाडौं, कात्तिक १५ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेरी अर्को बहसको केन्द्रमा तानिएका छन् ।

बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक उनले बहिष्कार गरेका छन् । कार्यक्रम बीचमै छोडेर उनी निस्केपछि त्यसबारे सामाजिक सञ्जालमा एकथरीले उनको कदमलाई उचित भनेका छन् भने अर्कोथरीले त्यसो गर्नु ठिक नभएको टिप्पणी गरेका छन्।

मेयर शाहले भने कार्यक्रम छोडेर निस्कने आफ्नो कदमको प्रतिरक्षा गरेका छन्। उनका सहायक सचिव नवीन भण्डारीले असम्बन्धित कुरा उठेपछि कार्यक्रमबाट मेयर शाह निस्केको बताए ।

उपत्यका मेयर्स फोरमको पाँचौ बैठक गर्ने पालो थियो बुढानीलकण्ठ नगरपालिकाको, बुढानीलकण्ठ नगरपालिकाले पार्क भिलेज रिसोर्टमा मंगलबार दिउँसो उपत्यका मेयर्स फोरमको बैठक आयोजना गर्यो । तर बैठकमा काठमाडौं महानगरका मेयर बालेनले अपत्यारिलो बालहठ देखाएपछि वातावरण तरङ्गित भएको थियो । 

काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’ को बैठकको शुरुमै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले बोल्न पाउनु पर्ने भन्दै जंगिएपछि बैठक केही समय तरंगित बनेको हो  ।

मेयर्स फोरमको अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बैठकमा एजेण्डा प्रस्तुत गर्न लागेका थिए । बालेनले उनलाई रोक्दै भने, ‘खै माइक दिनुस्, म बोल्छु ।’ आफूले बोल्दाबोल्दै रोकेपछि महर्जन नै एकछिन अल्मलिए ।

एकाएक बालेनले ‘मलाई बोल्न दिने कि नदिने ?’  चिरिबाबुलाई जंगिए । जवाफमा चिरिबाबुले भने, ‘म वैठकको अध्यक्षता गरिरहकै छु, एजेण्डामा प्रवेश गरेपछि सबैजना बोलौंला, तपाईंलाई बोल्न नदिने भनेकै छैन नि ।’ बालेन फेरि जंगिए, ‘बोल्न नदिने भए म किन बस्ने यहाँ ? माइक नदिने हो ? तपाईंहरु नै बस्नुस् बैठक ।’ यति भनेर बालेन बैठक छोडेर निस्किए ।

मेयर्स फोरमको बैठक महिनाको एक पटक बस्ने गरेको छ । पाँच महिना अगाडि फोरमको अध्यक्षमा ललितपुरका मेयर महर्जन अध्यक्षमा चुनिएका थिए । फोरम गठन हुनुअघि चन्द्रागिरि नगरपालिकामा भएको पहिलो भेलामा फोरमको अध्यक्षता काठमाडौंको मेयरका रुपमा आफूले गर्न पाउनुपर्ने बालेनको प्रस्ताव थियो ।

तर, अघिल्लो पटक काठमाडौंका मेयरले फोरमको अध्यक्षता गरेकाले यसपटक ललितपुरलाई दिनुपर्ने महर्जनले बताएका थिए । त्यसपछि बालेन आफू फोरमको साधारण सदस्य मात्रै हुने, अन्य पदमा नरहने भन्दै बाहिरिएका थिए । त्यसपछिका बैठक क्रमशः ललितपुर महानगर, सुयविनायक नगरपालिका, टोखा नगरपालिकाले गरेका थिए । ती कुनै वैठकमा पनि बालेन सहभागी भएका थिएनन् ।

बुढानीलकण्ठ नगरपालिकाले मंगलबार आयोजना गरेको बैठकमा भने उनी उपस्थित भए । तर, बैठक एजेन्डामै प्रवेश नगरी आफूले बोल्न पाउनुपर्ने हठ गरी उनी उठेर हिँडे ।  ‘उहाँले शुरुबाट नै आफू अध्यक्ष नभए पछि मेयर्स फोरमको वैठकमा आउन नखोज्ने, नटेर्ने जस्तो गर्नुभएको थियो । आज उहाँ बैठकमा आउँदा अन्य मेयर तथा उपमेयरहरु खुशी भएका थिए । तर, लफडा गरेर अशोभनीयता देखाउनुभयो’, बैठकमा सहभागी अर्का एक मेयरले भने ।

बालेनले मेयरको गरिमा नराखेको उनले बताए । ‘हामी सामूहिकतामा विश्वास गर्छौं तर उनले असभ्य बानीव्यहोरा देखाए । ती मेयरले भने । बैठकबाट बालेन निस्किएपछि काठमाडौंकी उपप्रमुख सुनिता डंगोल करिब डेढ घण्टा बसिन् तर आफू नबोल्ने बताइन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update