पोखरा, असार १० । पोखरा महानगरपालकिाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नवौं नगरसभामा बिहीबार उपमेयर मञ्जुदेवी गुरुङले करिब साढे ६ अर्बको बजेट प्रस्तुत गर्नुभयो ।
बजेट स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने महानगरले जनाएको छ ।
यसो गर्दा अझ बजेट स्रोत व्यवस्थापनमा १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून देखिने जनाएको महानगरले न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालू आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने जानकारी दिएको छ। कुल ६ अर्ब २७ करोड बजेट विनियोजनको प्रस्ताव गरेको महानगरले चालूतर्फ २ अर्ब ९० करोड ९४ लाख (४६.४ प्रतिशत) र पुँजीगत खर्चतर्फ ३ अर्ब ३६ करोड ८० लाख (५३.६ प्रतिशत) विनियोजनको प्रस्ताव गरिएको छ ।
महानगरपालिकाले शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएर विनियोजन गरिएको बजेटमा केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अर्थात १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव सात पाँच प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात २ दशमलव ३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६ दशमलव ४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६ दशमलव ६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरेको छ ।
बजेटले कोभिड-१९ को रोकथाम तथा संक्रमितको उपचार, वडा कार्यालय भवन तथा महानगरको प्रशासनिक भवन निर्माण, कनेक्टिङ रोडको निरन्तरता, सहरी क्षेत्रमा सडक बत्ती विस्तार, अस्फाल्ट प्रविधियुक्त सडक निर्माण, स्यानिटरी ल्यान्डफिल साइटको वैकल्पिक व्यवस्था, विभिन्न सामाजिक अभियान, पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा निजी लगानी परिचालनलाई प्राथमिकतामा राखेको छ। बजेटमा बाढी र पहिरोबाट आक्रान्त बनेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १०/१० लाख रुपैयाँ सहयोगको प्रस्ताव गरिएको छ ।