Kath khabar
नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने २ जना सोल्टिमोडबाट पक्राउ

 

                 काठमाडौं, कात्तिक १६ ।  वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गोरखाको बारपाक सुलिकोट ४ घर भई अहिले वनस्थली बस्ने २३ वर्षका अजित फेवाली र रानीवन बस्ने विपिन ढकाललाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूले वैदेशिक रोजगार विभागको कार्यालय नजिकै काठमाडौंको सोल्टिमोडमा वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने ट्राभल्स चलाइरहेको र त्यही ट्राभल्सबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको १२ गते भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि उहाँलाई विमानस्थलबाट फर्काइएको थियो । अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो ।

नक्कली कागजात अजित र विपिनले बनाएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका विपिन र अजितको ट्राभल्सबाट मोबाइल, कम्प्युटर लगायतका सामान समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update