Kath khabar
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै  

 

                   कोलकत्ता, कात्तिक १६ ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिका १९० रनले विजयी भयो । जितसँगै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अङ्क भएको छ ।

दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । न्युजिल्यान्ड समान खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । जितका लागि ३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५ ओभर ३ बलमा १६७ रनमा अलआउट भयो । उसका ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४ र मार्को जेसनले ३ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी कक र रसी भान डे डुसेनको शतकमा ४ विकेट गुमाएर ३५७ रन बनाएको थियो । डी ककको यो विश्वकपमा चौथो शतक हो । डेविड मिलरले ५३ रन जोडे ।

न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए । विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update