काठमाडौं, कात्तिक १६ । योगराज ढकाल अर्थात् रिगललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
उनलाई अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
रिगललाई आममाफी दिएकोविरुद्ध नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट हालेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो ।
चेतन मानन्धरको हत्या अभियोगमा अदालतले दोषी ठहर गरी जन्मकैद फैसला गरेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । २०७२ असार २८ मा चेतन मानन्धरको नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर हत्या गरेको अभियोग रिगलमाथि थियो ।