काठमाडौं, कात्तिक १६ । सशस्त्र प्रहरी बल नेपालले नेपाल भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुरुवात गरेको छ ।
मर्मतको शुरुवात बिहिबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित नेपाल भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो ।
सीमा स्तम्भ मर्मतको शुरुवात गर्नुहुँदै नायब महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने र यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देश बीचको सम्बन्ध थप मजबुत बनाउन योगदान पुर्याउने समेत बताउनुभयो ।
उहाँले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भई सकेकाले आगामी दिनहरुमा निरन्तर रुपमा मर्मत कार्य सुचारू रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरुको सहयोग अपरिहार्य रहेको समेत बताउनु भयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोग बिना प्रभावकारी रुपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महशुस गरी सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम शुरु गरिसकेको र सोहि अन्तर्गत गत कार्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडाका अधिकांस वडा अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने चरणमा रहेको समेत जानकारी गराउनु भएको थियो ।
नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुव (बिडब्लुजी) को पाचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बलले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो ।
नेपाल सरकार मन्त्री परिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम मर्मतको कार्य शुरु गरिएको हो । पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजार भन्दा बढि सीमा स्तम्भहरुको मर्मत हुनेछन् ।
सो कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय सशस्त्र सीमा बलका डिपुटी कमाण्डेन्ट सन्तोष कुमार निमोरिया, नापी विभागका अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीय भद्रभाद्मीहरुको समेत उपस्थिती रहेको थियो ।
यसैगरी आजैबाट मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरुमा समेत सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरिएको छ ।