काठमाडौं, कात्तिक १८ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ ।
जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ भने घाइतेहरू ल्याउने क्रम जारी रहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालका अनुसार भूकम्पमा परेर अहिलेसम्म १०८ जना घाइते भएका छन्।
यसैगरी, रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।
प्रहरीले नेपालगञ्जबाट प्रहरी अस्पतालको टोली आवश्यक औषधिसहित खटाएको छ भने छिमेकी जिल्लाहरुबाट पनि उद्दारका लागि प्रहरी पठाएको जनाएको छ। जाजरकोट र रुकुमपश्चिमका केही ठाउँमा सुख्खा पहिरो गएको र केही ठाउँमा पुल भासिएकोले घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको छ । थप विवरण आउने क्रम जारी रहेको छ ।