Kath khabar
जावलाखेलमा जारी गोदावरी फूल मेला आज पनि जारी



               काठमाडौं, कात्तिक १९ । एक दिन लम्ब्याइएको ललितपुरको जावलाखेलमा जारी गोदावरी फूल मेला आज पनि जारी छ । गत मङ्गलबारदेखि उपभोक्ताको माग बढेकाले मेला आइतवारसम्म लम्ब्याइएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

आइतबार मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ ।

“जावलाखेल खेल मैदान ललितपुरमा जारी १६ औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै कार्तिक १९ गते आइतबार बेलुका ५ः०० सम्म मेला जारी रहने जानकारी गराउँदछौँ,” एसोसिएसनले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, “आइतवारको मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रमा गएको भुकम्प पीडितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने जानकारी गराउँदछौँ ।”

एसोसिएसनले आफ्ना सदस्य तथा आम नागरिकलाई भूकम्पपीडितको राहतका लागि आआफ्नो स्थानबाट सहयोग गर्नसमेत अपिल गरेको छ। एसोसिएन मुख्य आयोजक तथा पुष्प विकास केन्द्र सहआयोजक रहेको प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

शनिवार बिहान स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव लगायत सरकारी उच्च पदस्थ अधिकारीले मेला अवलोकन गर्नु भएको छ । बिहानैदेखि मेलामा अन्य दिनभन्दा अत्यधिक भीड लागेको छ ।

शुक्रवार मेलामा पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सभासद डा. तोसिमा कार्की लगायतबाट मेला अवलोकन भएको थियो। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको चौथो दिन शुक्रवारसम्म ३१ हजारले मेला अवलोकन गरेका छन् भने ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update