Kath khabar
भूकम्प पीडितहरूलाई निर्माण व्यवसाय परिषद्ले २५ लाख उपलब्ध गराउने


                  काठमाडौं, कात्तिक २० । नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा आइतबार बसेको परिषद्को आकस्मिक बैठकले निर्माण व्यवसाय कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । बैठकले गत शुक्रवार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निचूडको विनाशकारी भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा भएको ठूलो मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बैठकले उक्त विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको महासचिव दाहालले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update