Kath khabar
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण 

 

                काठमाडौं, कात्तिक २० ।  भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्प पछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।आइतबार नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

एक विशेष भारतीय वायुसेना सी-१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी गर्‍यो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसहरूका लागि चिकित्सा उपकरणहरू समावेश थिए ।

राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताए ।

भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताए । भारतले भूकम्प पछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्प पछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update