Kath khabar
वायु प्रदूषणका कारण दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

 

                न्यु दिल्ली, कात्तिक २० ।  वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ ।

गएको शुक्रवार देखि विद्यालय बन्द गरेकोमा आज देखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिए पछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।

वायु प्रदूषण मापन सूचक एक्यूआई ४ सय भन्दा माथि जाँदा अत्यन्तै घातक मानिनेमा दिल्लीको वायुको एक्यूआई केही दिन देखि लगातार ४ सय भन्दा माथि रहेको छ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई धुवाँले ढाक्ने गर्छ । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहर मध्ये एक मानिन्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update