काठमाडौं, असार ११ । राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षिय योजना २०६७/०६८ मा निर्यात ब्यापारलाई १ खर्ब पुर्याउने भनिएको थियो । त्यसको १० वर्षपछि बल्ल सरकारले यस्तो निर्यातको लक्ष्य भेटेको छ । तर, लक्ष्य भेट्दा पनि निर्यात भने आयातित कच्चा पदार्थ प्रशोधन गरेर भारत पठाउँदा बढेको देखिन्छ । भन्सार विभागका अनुसार यो वर्षको जेठ मसान्तसम्म देशबाट १ खर्ब २१ अर्बको निर्यात भएको छ ।
गत वर्षको जेठ मसान्तसम्म ८८ अर्बको निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो निर्यात ३७ दशमलव सात आठ प्रतिशतले बृद्धि भएको छ । तर निर्यातको ३५ प्रतिशत हिस्सा भने बिदेशबाट कच्चा तेल आयात गरेर भारत निर्यात गरिएको भटमासको तेलले ओगटेको छ । अर्थात जेठमसान्तसम्म ४२ अर्ब ३४ करोडको भटमासको तेल निर्यात भएको छ। जबकी यहि तेल निर्यात गर्नका लागि विदेशबाट भटमासको ४५ अर्ब ५९ करोडको भटमासको कच्चा तेलको आयात भएको छ ।
महामारीका बिचमा पनि बढ्दो आयातका कारण भन्सार विभागलाई राजस्व संकलनमा भने सहज भएको छ । विभागले जेठ मसान्तसम्म ४ खर्ब ३ अर्ब लक्ष्य राखेकामा भन्सार महसुल ९९ दशमलव ६३ प्रतिशत अर्थात ४ खर्ब १ अर्ब उठेको छ ।
यो वर्ष भटमासको तेलसँगै डिजल, मोबाइल फोन चामल र पोलिथिन दानाको आयात बढेको छ । डिजलको आयात १ सय ५७ प्रतिशत, मोबाइल फोनको १ सय १६ प्रतिशत, एमएस ब्लेड ७० प्रतिशतले बृद्धि भएको छ ।
निर्यातमा भने भटमासको तेलबाहेक अन्य बस्तुको भने खासै बृद्धि भएको छैन । अलैची ९६ करोड, गलैचा ४५ करोड, तयारी कपडा २९ करोड र चिया ३२ करोडले निर्यात बढेको छ । यहिको कच्चा पदार्थ प्रयोग गरि उत्पादन भएका बस्तुको साटो बाहिरबाट कच्चा पदार्थ आयात गरि उत्पादन गरिएको भटमासको तेलबाट निर्यात बढेकाले यसलाई सकारात्मक रुपमा लिन नहुने बिज्ञको तर्क छ ।
यो वर्षको जेठसम्म २५ दशमलव छ सात अंकले आयात बढ्दा ब्यापार घाटा पनि १२ खर्ब ६२ अर्ब पुगेको छ । यहि उत्पादित बस्तुको आधारमा उत्पादित बस्तुको निर्यात गर्न नसकेसम्म दिगो रुपमा ब्यापार घाटा कम गर्न सकिदैन ।
आयात प्रभावित हुँदा कम भएको ब्यापार घाटा फेरी उकालो लाग्न थालेको छ । निषेधाज्ञाका बिच जेठ महिनामा मात्रै १ खर्ब २९ अर्ब बराबरको सामान आयात भएको छ । जसका कारण भन्सार विभागको राजस्व लक्ष्य अनुरुप नै उठेको र महामारीले खासै प्रभाव नपारेको देखिन्छ। तर आयातित बस्तुको आधारमा निर्यात बृद्धि हुँदा ब्यापार घाटा भने बढ्दै गएको देखिएको छ ।