Kath Khabar
श्रीमतीलाई खाल्डोमा गाडेर उजुरी दिने लालु विक प्रहरी हिरासतमा

 

                   काठमाडौं, कात्तिक २० ।  गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका-२ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए । कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा केही पत्ता लगाउन सकेन ।

करिब १ महिना पछि लालु आफैँ हराउँछन् । जसले घटना थप रहस्यमय हुन्छ । उनी भारत गएको प्रहरीले सूचना पाउँछ । निरन्तर पिछा गरिरहने क्रममा उनी गत ५ कात्तिकमा नेपाल आएको प्रहरीले पत्ता लगाउँछ । प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरी कार्यालय लैजान्छ । सोधपुछ गर्दा उनले धेरै समय ढाँट्न सक्दैनन् । आफूले नै श्रीमतीलाई हत्या गरी खाल्डोमा गाडेको स्वीकार्छन् । 

बौद्ध वृत्तका डिएसपी राजु पाण्डे नेतृत्वको टोली उनलाई लिएर शव गाडेको भनिएको ठाउँमा पुग्छ । जहाँ खन्दा गोपीको शव फेला पर्छ । ५ फिट गहिरो खाल्डोमा पुरेको शव कुहिएको अवस्थामा बरामद गरी प्रहरीले पोस्टमार्टमका लागि पुर्‍याउँछ । घरासयी विवादमा उनले श्रीमतीको हत्या गरी खाल्डोमा गाडेको र घटना लुकाउन हराएको भन्दै निवेदन दिएको प्रहरी अधिकारीहरू बताउँछन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार १७ जेठमा उनले श्रीमतीको हत्या गरेका हुन् । हत्या पछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए । घटना लुकाउन शव बेपत्ता बनाउने उद्देश्यले त्यसरी गाडेका थिए । पछि डराएर भारत गए । नोयडास्थित एक होटेलमा १ महिना काम पनि गरे । पछि दशैंमा नेपाल आउँदा उनी पक्राउ परेका हुन् । 

शुरुमा उनले घटना लुकाउन खोजे पनि प्रहरी अनुसन्धान पछि वास्तविकता बताएका हुन् । घटनाको ४ महिना पछि पक्राउ परेका उनलाई बौद्ध वृत्तले थुनामा राखी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । बयानमा पनि उनले अपराध स्वीकार गरेको बौद्ध वृत्तका डिएसपी पाण्डेले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update