Kath khabar
खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङले १० बोरासम्म चिनी दिने


                काठमाडौं, कात्तिक २० ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहल पछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ। 

बजारमा चिनीको हाहाकार भए पछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै ३ हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो। 

यसका साथै अवैध रूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका ३ वटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा विक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन्। 

उपभोक्ताले प्रतिकिलो ११५ रुपैयाँमा चिनी किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्य भन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ। खुद्रा व्यापारी तथा व्यवसायीहरूले आज देखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलि देखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन्। चिनी किन्नका लागि भने व्यापारीले पानकार्ड तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। 

चिनीको संकट अन्त्य गर्दै सहज रूपमा चिनी उपलब्ध गराउन दशैं लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तर विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीहरूको बैठकले विभिन्न उपाय माथि छलफल गरेको थियो। 

यसअन्तर्गत हरेक दिन अनुगमनलाई प्रभावकारी बनाउने, अवैध चिनी बरामद गर्न विशेष अप्रेसन सञ्चालन गर्ने, नेपाली चिनी उद्योगहरूमा मौज्दात रहेको चिनी उपभोक्ताका लागि बजारमा ल्याउन समन्वय गर्ने, भारतबाट चिनी आयातका लागि समेत पहल गर्ने निर्णय भएको थियो। 

नेपाली चिनी उद्योगकको संरक्षणका लागि सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगहरूले भने उपभोक्ताका लागि भन्दा चिनी खपत हुने अन्य उद्योगका लागि चिनी बिक्री गर्ने गरेपछि संकट उत्पन्न भएको थियो। 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update