Kath khabar
इन्स्पेक्टरले प्रहरी कार्यालय भित्रै कुटे सेवाग्राहीलाई


                काठमाडौं, कात्तिक २० ।  प्रहरी कार्यालय भित्र प्रहरीबाटै सेवाग्राही कुटिएका छन्। प्रहरी प्रभाग गोंगबुमा टोखा-३ बानियाँटारका कर्णबहादुर अधिकारी माथि गत बिहीबार कुटपिट भएको हो।

प्रभाग प्रमुख इन्स्पेक्टर दिनेश गुरुङले कुटपिट गरेको भन्दै अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौं लगायत निकायमा उजुरी दिएका छन्।

अवकाश प्राप्त सैनिक अधिकारी मुकुन्द थपलियासँग लेनदेन सम्बन्धी विषयमा विवाद भएपछि उनी उजुरी लिएर गएका थिए। छलफलका लागि प्रहरी कार्यालयमा थपलिया नआएपछि फोन गरेर उनले गालीगलौज गरेका थिए। सोही विषयलाई लिएर आफू माथि इन्स्पेक्टर गुरुङले कुटेको अधिकारीले बताए।

 ‘म आवेगमा आएर फोनमा अलि बढी बोलेको हो, त्यो स्विकार्छु। त्यो विषयमा माफी पनि मागेको थिएँँ,’ अधिकारीले भने, ‘तर, उहाँले मलाई कार्यालय भित्रै पाइपले कुट्नुभयो। पिँडौलामा पटकपटक पाइपले हान्नुभएको छ। अहिले उपचार गराइरहेको छु।’

अधिकारीले कार्यालयमा अश्लील बोलेको र सम्झाउँदा पनि नमाने पछि नियन्त्रणमा लिने प्रयासमा बल प्रयोग भएको इन्स्पेक्टर गुरुङको भनाइ छ। ‘नियन्त्रणमा लिने क्रममा हातपात गर्नुभयो,’ उनले भने, ‘त्यसकारण हामीले लाठी चार्ज गर्नुपरेको हो। सामान्य घटना हो।’

कार्यालय भित्रै कुटपिटको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update