काठमाडौं, कात्तिक २१ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका छन् ।
शुक्रवार रातिको भूकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल जाजरकोट अस्पताल पुगेर घाइतेहरुलाई भेटेका छन् । राष्ट्रपति पौडेलले घाइतेहरुको अवस्था बुझ्नुका साथै उपचारको व्यवस्थाबारे समेत जानकारी लिएका छन् ।
जिल्ला अस्पताल पुगेर राष्ट्रपति पौडेलले भेरी नगरपालिका – १ की ६३ वर्षीया सितली कामी र भेरी नगरपालिका– ३ का वीरे पुनलाई भेटेर स्वास्थ्य अवस्था तथा उपचारको प्रबन्धबारे जानकारी लिएका थिए ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।
राष्ट्रपति पौडेलले आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका हुन् । पौडेलले भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।