Kath khabar
बाढीका कारण दक्षिण सुडानमा ५ वर्ष मुनिका १६ लाख बालबालिका भोकमरीको जोखिममा

 

                  जुबा, कात्तिक २१ ।  संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा ५ वर्ष मुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकाय  विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा ५ वर्ष मुनिका १६ लाख भन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउन समेत समस्या भोग्नुपरेको छ ।

गएको वर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीका सबैजसो मानिस विस्थापित भएका छन् । विश्व खाद्य कार्यक्रमले दक्षिण सुडानमा आएको बाढी र त्यसपछिको अवस्था जलवायु परिवर्तनका कारण प्रत्यक्ष भोगिएको ठूलो समस्या रहेको बताएको छ ।

दक्षिण सुडानका झण्डै ७६ प्रतिशत मानिसलाई मानवीय सहायता चाहिने संयुक्त राष्ट्र सङ्घको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update