Kath Khabar
धनुषामा सशस्त्र प्रहरी बलद्वारा १२ लाख मूल्यभन्दा बढीको अवैध सामान बरामद



                        काठमाडौं, कात्तिक २१ । सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको विभिन्न स्थानबाट १२ लाख रुपैयाँभन्दा बढिको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ ।

जनकनन्दिनी गाउँपालिका–१ इनरुवास्थित अड्डा टोल इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बीओपी इनरुवाबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले कार्तिक २० गते राति ११ बजेको समयमा ३ लाख ७५ हजार मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको हो ।

भारतबाट भन्सार छली ज ११ प ६३२१, प्रदेश २ ०२–००१ प ०२०८ र ज ७ प ८७५६ नम्बरको तीन वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित लत्ताकपडासहित मोटरसाइकल बरामद गरिएको हो । साथै कार्तिक २१ गते बिहान सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुरस्थित महावीर चोकबाट २ वटा मोटरसाइकलमा अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाइकल र सामान छाडी भागेका थिए । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा तथा गण मातहत कार्यालयहरुले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरू बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update