काठमाडौं, कात्तिक २१ । गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट देशका विभिन्न स्थानमा गरी ३५ हजार बढी घरमा क्षति पुगेको छ ।
सरकारले गरेको अध्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुर्याएको छ । जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९९६१ घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै, प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १-१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ । सल्यानमा २५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ९७ घरमा आंशिक क्षति पुगेको छ ।
भूकम्पबाट रोल्पामा १७ घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ । जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १-१ घर पूरै ध्वस्त भएका छन् ।
तथ्यांकअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ । भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ । यसपछि रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको मंगलबार बिहान सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । घाइते ३६३ मध्ये सबैभन्दा बढी रुकुम पश्चिममा २ सय जना छन् भने जाजरकोटमा १४५ जना घाइते भएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर यही कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएका क्षतिको विवरण संकलन जारी रहेको सरकारले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पबाट भएका क्षतिबारे प्रभावित जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी छ ।
भूकम्पको क्षति विवरण