तुलसीपुर, कात्तिक २२ । दाङको तुलसीपुर मेट्रो कलेजले बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको सहकार्यमा स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसै शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी भर्ना खुल्ला गरिएको कलेजका प्रमुख बसन्त आचार्यले जानकारी दिए । स्नातक तहको कार्यक्रम चार वर्षको हुने र २ वर्ष मेट्रो कलेजमा अध्ययन गर्ने अनि बाँकी दुई वर्ष बेइजिङ विश्वविद्यालयमा अध्यापन हुने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए ।
कलेज प्रमुख आचार्यका अनुसार मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतको विटिसिएसओएल कार्यक्रम सञ्चालन हुन लागेको हो । ‘आठ सेमेस्टरमा सञ्चालन हुने कार्यक्रमको पहिलो र दोस्रो सेमेस्टर मेट्रो कलेजमा सञ्चालन हुनेछ भने तेस्रो देखि छैटौसम्म चिनियाँ विश्वविद्यालयमा र अन्तिमका दुई सेमेस्टर मेट्रो कलेजमै सञ्चालन हुनेछ’ कलेज प्रमुख आचार्यले भने ।
चारवर्षे कार्यक्रममा चिनियाँ भाषाका साथै विद्यार्थीको अभिरुचि अनुसार मानविकी संकायका विभिन्न विषयको अध्यापन हुनेछ । सबै विषयहरू विद्यार्थीले चिनियाँ भाषामा नै अध्ययन गर्नुपर्नेछ । तुलसीपुर मेट्रो कलेजमा अध्ययन गर्दा सामान्य शुल्क लागेपनि चिनियाँ विश्वविद्यालयमा छात्रावास सुविधा सहित पूर्ण छात्रवृत्तिमा अध्यापन हुनेछ । लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहयोगमा कलेजले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कलेजमा यस अगाडि बिएएलएलबी कार्यक्रम सञ्चालनमा रहेको छ ।