काठमाडौं, कात्तिक २२ । जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीनबाट करिब ३० करोडको राहत सामग्री नेपाल आइपुगेको छ। बुधबार चिनियाँ राजदूत सङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन सरकारले पठाएका राहत सामाग्री हस्तान्तरण गरेका छन् ।
बुधबार बिहान चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत पोखरा विमानस्थलमा ल्याइएको ३० करोड मुल्य बराबरको सामग्री राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
त्यस क्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे।
राहत सामाग्रीमा दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ । यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन् ।