Kath khabar
बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत

                      मकवानपुर, कात्तिक २२ । बाग्मती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार बाग्मतीमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो । कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४ दशमलव एक प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो ।

बाग्मतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्या बढेकाे छ । १४ दशमलव आठ प्रतिशत फलामे हलो, ३० दशमलव आठ प्रतिशत ट्र्याक्टर र १६ दशमलव सात प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताउनुभयो ।

तीन दशकमा नेपालमा कृषक परिवार सङ्ख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुई पटकमात्र बाली लगाएको देखिन्छ । बाग्मती प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी  घरपरिवार रहेकामा छ लाख ६८ हजार एक सय ७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार दुई सय ९२ हेक्टर जमिन कृषिमा  प्रयोग भएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा बगैँचाको रूपमा आँप पाँच सय ३२ हेक्टरमा, केरा एक हजार एक सय २० हेक्टरमा, सुन्तला छ सय ८८ हेक्टरमा, कागती चार सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ ।

त्यस्तै प्रदेशमा गाईभैँसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै  यसको क्रम घट्दो देखिन्छ । गाईगोरु र राँगाभैँसीभन्दा खसीबाख्रा, सुँगुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै बढेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा उत्पादन गरिएको वस्तु सबै घरायसी उपभोग गर्ने ६६ दशमलव चार प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने सात दशमलव चार प्रतिशत र सबै वस्तु बिक्री गर्ने शून्य दशमलव नौ प्रतिशत रहेका छन् ।

युवाहरू विदेशिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको सङख्या बढ्दो छ । विगत तीन दशकदेखिको नतिजा हेर्दा अहिले महिला कृषकको सङ्ख्या वृद्धि भएको निर्देशक कार्कीले बताउनुभयो । नेपालमा ३२ दशमलव चार प्रतिशत महिला कृषक छन् भने बाग्मती प्रदेशमा मुख्य कृषकको रूपमा महिला ३७ दशमलव दुई प्रतिशत र पुरुष ६५ दशमलव आठ प्रतिशत रहेका छन् । विसं २०५८ को गणनामा महिला आठ दशमलव एक प्रतिशत र पुरुष ९१ दशमलव नौ प्रतिशत कृषक थिए । किसानको मुख्य चिन्ता भने समयमै मल, बिउ उपलब्ध नहुनुमा छ । कृषि गणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बिउ उपलब्ध भए उत्पादन बढाउन सकिने बताए ।

त्यस्तै ४८ प्रतिशतले सिँचाइको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवम् आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल सुधार र उन्नत बिउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शून्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update