Kath Khabar
केएमसीद्वारा दशौं हजार यौनकर्मी, एचआइभी पिडित र अनाथहरुको निःशुल्क उपचार गर्ने घोषणा

काठमाडौं, असार ११ । काठमाडौं मेडिकल कलेज (केएमसी) ले अब दशौं हजार यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्योपचार गर्ने भएको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको हो ।

घरेलु महिला हिंसा, यौन हिंसा, मानब बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीविच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएपछि दशौं हज्जारौं यौनकर्मी, हजारौं एचआइभी पिडित तथा अनाथ बालबालिकाहरुको निःशुल्क स्वास्थ्योपचारको बाटो खुलेको हो ।  

‘केएमसीले अब माइती नेपालको सिफारिसमा दशौं हजार यौनकर्मी, हज्जारौं एचआइभी पिडित तथा सयौं अनाथहरुको निःशुल्क उपचार गर्नेछ ।’ यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भन्नुभयो ।

सम्झौता अनुसार केएमसीले वार्षिक ५० लाख बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ । केएमसीले औषधी वाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

आज आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले महिला हिंसा, यौन हिंसा, मानव बेचविखन कार्यमा राष्ट्रको लागि योगदान पुर्याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा, एचआइभी पिडीत र अनाथब बालबालिकाको उपचारमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरुको उपचार तथा पुर्नस्थापनामा केएमसीले देखाएको तत्परता अनुकरणीय भएको बताउनुभयो । राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास कोइरालाको छ ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका समाजसेवी डा. शर्माको केएमसीमा प्रवेश गरेसँगै केएमसीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु ल्याएको छ । यसअघि गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको केएमसीले चाँडै चिकित्सा सेवाका विशिष्ट सेवाहरु समेत सञ्चालनमा ल्याउँदैछ भने, नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थाल्ने घोषणा गरिसकेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update