Kath Khabar
मुगु सामूहिक हत्याका आरोपीलाई आज सार्वजनिक गरिँदै

 

                       काठमाडौं, कात्तिक २४ । मगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गर्दैछ । उक्त घटनाको १३ दिनपछि आज दिउँसो २ बजे आरोपीलाई सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

हत्याको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको हो ।  पक्राउ पर्ने मध्ये एक व्यक्ति मृतककै नातेदार, मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाही रहेको बताइएको छ ।

अनुसन्धानका लागि आइतबार मात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो । हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए । घटना भएको पर्सीपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन् ।

रारा नगरपालिका–६ मुन्दु गाउँमा गत कात्तिक ८ गते एकै परिवारका चार जनाको हत्या भएको थियो । मुन्दुगाउँकी श्रीदेवी बोहरा र उनका तीन छोराछोरी कात्तिक १० गते बिहान मृत भेटिएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update